काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभागको आयोजना तथा प्रतिष्ठानका तीन क्रियाशील ट्रेड युनियनको सहभागितामा तिज विशेष कार्यक्रम–२०८२ सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर गरेका थिए ।
उनले तिज पर्व महादेव–पार्वतीको कथाबाट सुरु भएको भएपनि समयक्रमसँगै समुदायमा व्यापक रुपमा फैलिएको उल्लेख गर्दै यसलाई महिला मुक्ति, विभेदको अन्त्य र सामाजिक परिवर्तनसँग जोडेर मनाउन आग्रह गरे । उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले तिज पर्व आफन्त र साथीभाइसँग भेटघाट र रमाइलो गर्दै मनाउने पर्व भएपनि असमानता र विकृतिविरुद्ध महिलामुक्ति सन्देशसहित मनाउनुपर्ने बताए ।

प्राज्ञ परिषद् सदस्य तथा साहित्य र साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले तिज पर्व केवल महिलाको मात्रै नभएर समुदायको सम्झौतासँग जोडिएको सांस्कृतिक पर्व भएको उल्लेख गरे । यस्तै, प्राज्ञ परिषद्का सदस्य बाबा बस्नेतले तिजलाई वैचारिक दृष्टिले लिन र महिलाका पीडा व्यक्त गर्ने माध्यम बनाउनुपर्ने जोड दिए ।
सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले धार्मिक अन्धविश्वास, अराजकता र विकृतिबाट तिजलाई मुक्त गर्दै महिला स्वतन्त्रता, सामाजिक सदभाव र पारिवारिक मेलमिलापको पर्वका रूपमा लिनुपर्ने बताइन् । उनले ऋषिपञ्चमीसँग जोडिएको परम्परागत व्रतले महिलाको स्वतन्त्रता सीमित गरेको हुँदा त्यसबाट मुक्त हुनुपर्ने तर्क प्रस्तुत गरिन् ।
कार्यक्रममा साहित्यकार सीता शर्मा, डा. प्रतिभा पुन, र डा. चूडाप्रसाद ढकाल ले तिज पर्वमा पुँजीवादी–सामन्ती प्रभाव, विज्ञान र प्रविधिको प्रभाव तथा सामाजिक असमानता बढाउने तत्वहरू हटाउँदै तिजलाई मेलमिलाप, न्याय र महिलामुक्ति सन्देशसहित मनाउनुपर्ने बताए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कर्मचारी र संघका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन राधा कार्कीले गरेकी थिइन् ।







