काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकद्वारा प्रस्तुत विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त सन्देशअनुसार विधेयक पारित भएको घोषणा गरे।
बैठकमा गृहमन्त्री लेखकले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै, विधेयकलाई सरकारले प्रस्तुत गरेको भन्दा उन्नत, व्यवहारिक र पारदर्शी बनाइएको बताएका छन्। उनले विधेयक पारित गर्नु ऐतिहासिक प्रस्थान भएको उल्लेख गर्दै, “आमा पनि वंश हो” भन्ने धारणा व्यवहारिक रूपमा विधेयकमा स्थापना गरिएको जानकारी दिएका छन्।







