एजेन्सी । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम गर्ने र इजरायलसँग बाँकी बन्धकको रिहाइका लागि नयाँ मध्यस्थता प्रस्तावमा सहमति जनाएको छ। प्यालेस्टाइनी समूहको स्रोतले बेलायती समाचार संस्था बीबीसीसँग यो विषय पुष्टि गरेको छ।
इजिप्ट र कतारको पहलमा तयार भएको यस प्रस्ताव अमेरिकाले दिएको ढाँचामा आधारित छ। योजनाअनुसार पहिलो चरणमा ६० दिनको युद्धविराम लागु हुनेछ। त्यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ, जसमा करिब २० जना जीवित रहेको विश्वास गरिएको छ।
यो प्रक्रियापछि स्थायी युद्धविरामका लागि वार्ता अघि बढाउने योजना रहेको बताइएको छ। हालसम्म हमासले प्रस्तावमा सहमति जनाए पनि इजरायलको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। गत साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकलाई एकैचोटि रिहा गर्ने सम्झौता मात्र स्वीकार गर्ने बताएका थिए। नेतान्याहूले हमास अहिले ठूलो दबाबमा रहेको उल्लेख गरेका छन्।













