September 23, 2026

राष्ट्रिय मानवअधिकार आयोगले भैरहवा कारागारको अनुगमन

राष्ट्रिय मानवअधिकार आयोगले भैरहवा कारागारको अनुगमन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन्। अनुगमन पछि आयोगले कारागारमा आधारभूत सुविधाको कमी भएको जनाएको छ।

आयोगकी प्रवक्ता लिली थापाले कारागार क्षमताभन्दा बढी कैदीबन्दी राखिनु मुख्य समस्या रहेको बताइन्। उनले कारागारभित्र पर्याप्त शौचालय नहुँदा र भएका शौचालयको अवस्था पनि असन्तोषजनक रहेको जानकारी दिइन्।

रवि लामिछानेको कोठामा पंखा भए पनि झ्यालहरू प्लाइउडले टालिएका छन्, जसले गर्दा हावा आवतजावतमा समस्या आएको थापाले भनिन्। जेल प्रशासनले सुरक्षाका कारण झ्याल टालिएको भए पनि आयोगको आग्रहपछि झ्याल खोल्न तयार भएको उनले बताइन्।

उनले कोठामा एसी नभएको र रविलाई अन्यत्र स्थानान्तरण गर्न अनुमति नदिइएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन्। अदालतले स्थानान्तरण गर्न भनिसकेको भए पनि कारागार व्यवस्थापन विभागले स्थानान्तरण नगरेको थापाले जनाइन्।

कारागारमा पत्रपत्रिका नपुग्दा रविलाई सूचना पहुँचबाट वञ्चित गरिएको पनि आयोगले बताएको छ।

इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठामा एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा रहेको जानकारी दिइन्। झ्यालहरू खोल्न नसकिने कारण नजिकै घरहरू रहेको र सर्पदंशको जोखिम रहेको जेल प्रशासनको व्याख्या रहेको छ। तर आयोगले मोटो जाली वा डन्डी राखेर झ्याल खोल्न सुझाव दिँदा प्रशासनले सहमति जनाएको उनले भनिन्।

सम्बन्धित खबरहरु

भर्खरै