हेटौँडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।
मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि कांग्रेसबाटै मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा बानियाँले सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए।
एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको समर्थनसहितको दस्तावेज पेश गरेपछि बानियाँलाई नियुक्त गरिएको हो।
मुख्यमन्त्री बानियाँको शपथग्रहण समारोह आज (मंगलबार) अपराह्न ४ बजेका लागि तय गरिएको छ। शपथपछि मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढ्नेछ।
बानियाँले गठबन्धन सरकारलाई स्थायित्व प्रदान गर्दै प्रदेशको विकास, सुशासन र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।







