भारत । उत्तराखण्डको प्रसिद्ध धार्मिक स्थल मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिँदा एक बालकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ।
आइतबार श्रद्धालुको ठूलो भीड लागेको बेला मन्दिर परिसरभन्दा करिब १०० मिटर तलको सिँढीमा अचानक भागदौड मच्चिएको थियो। तीव्र भीडका कारण धेरैजना लड्दा मृत्यु भएको जनाइएको छ।
स्थानीय सुरक्षाकर्मी र प्रत्यक्षदर्शीका अनुसार घटनाको वास्तविक कारण भने अझै स्पष्ट हुन सकेको छैन। तर, भीडभाडकै बीचमा कुनै विजुलीको तार चुँडिएर करेन्ट लाग्ने अफवाह फैलिएपछि भागदौड सुरु भएको बताइएको छ।
घटनामा दर्जनौं घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जानकारी आएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रशासनले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको र मन्दिरको सुरक्षालाई थप कडा बनाइएको जनाएको छ। साथै, भीड व्यवस्थापनमा चूक भएको हुन सक्ने प्रारम्भिक आँकलन गरिएको छ।
मनसादेवी मन्दिरमा वर्षभरि ठूलो संख्यामा भक्तजनहरू पुग्ने गर्दछन्। यस्ता घटनाबाट भावनात्मक रूपमा जोडिएका श्रद्धालुहरू स्तब्ध छन्। राज्य सरकारले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ।













