काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको लालसा, महत्वाकांक्षा वा आशक्ति नरहेको स्पष्ट पारेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रकै सर्वोच्च पदमा पुगिसकेको व्यक्ति भएर अब पदको आकांक्षा नरहेको बताइन्।
भण्डारीले भनिन्, “कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति छैन। मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु।”
उनले राजनीतिक दलमा फर्किनु आफ्नो संवैधानिक अधिकार भएको बताउँदै यसलाई अनौठो ठान्नु नपर्ने धारणा राखिन्। “म राष्ट्रपति निर्वाचित भएको व्यक्ति हुँ, त्यो जिम्मेवारी पूरा गरेर पुनः पार्टी राजनीतिमा फर्किनु अनौठो होइन। यो मेरो अधिकार हो, र जनताको सेवामा लाग्ने संकल्प पनि हो।”
एमाले सदस्यता नवीकरणको विषयलाई लिएर हाल केही विवाद उत्पन्न भइरहेका बेला भण्डारीको यस्तो भनाइ आएको हो। उनले राजनीतिक पृष्ठभूमिबाट राष्ट्रपतिको जिम्मेवारीमा पुगेको स्मरण गर्दै पुनः पार्टी राजनीतिमा योगदान दिन चाहेको बताएकी छन्।













