September 23, 2026

रुसमा कम्तीमा ४५ जना सवार विमान दुर्घटना

रुसमा कम्तीमा ४५ जना सवार विमान दुर्घटना

एजेन्सी । रुसको सुदूर-पूर्वी अमुर क्षेत्रको एक दुर्गम स्थानमा करिब ४५ जना सवार एक यात्रुवाहक विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार, दुर्घटनामा कोही पनि जीवित रहेको तत्काल कुनै सङ्केत देखिएको छैन।

अंगारा एयरलाइन्सद्वारा सञ्चालित दुई-प्रोपेल्लर भएको एन्टोनोभ-२४ विमान ब्लागोभेशचेन्स्क शहरबाट टिन्डा शहरका लागि उडेको थियो। स्थानीय समयअनुसार दिउँसो करिब १:०० बजे विमान राडारबाट हराएको थियो।

एक उद्धार हेलिकप्टरले पछि टिन्डाबाट करिब १६ किलोमिटर टाढाको घना जङ्गलले ढाकिएको पहाडी भेगमा विमानको जलिरहेको भग्नावशेष फेला पारेको हो। रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा घना जङ्गल क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ।

हेलिकप्टरमा रहेका उद्धारकर्मीहरूले कोही पनि जीवित रहेको प्रमाण नदेखेको स्थानीय उद्धारकर्ताले बताएका छन्। अमुर क्षेत्रको नागरिक रक्षा एजेन्सीले घटनास्थलमा स्थलगत टोली पठाइएको जनाएको छ।

‘अहिले २५ जनाको टोली र पाँचवटा उपकरण पठाइएको छ भने चारवटा विमान चालक दलसहित तयारी अवस्थामा राखिएको छ,’ एजेन्सीले भनेको छ।

जङ्गल र कठिन भू-भागका कारण घटनास्थलमा पुग्न उद्धारकर्मीलाई कठिनाइ भएको एक उद्धारकर्मीले सरकारी समाचार एजेन्सी तासलाई बताएका छन्।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। जसमा पाँच जना बालबालिका पनि थिए। तास समाचार एजेन्सीले भने ४० यात्रु र ६ जना चालक दलका सदस्य रहेको उल्लेख गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै