काठमाडौं । रानाथारु समुदायको भाषा, व्याकरण र शब्द सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित तयार पारिएको ‘रानाथारु भाषा व्याकरण र शब्दकोष’ को लोकार्पण कञ्चनपुरको लालझाडी गाउँपालिकामा सम्पन्न भएको छ ।
प्रा.डा. दुविनन्द ढकाल, शिक्षक राजकुमार राना र नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा भाषाविद् कमल सिं रानाको संयुक्त लेखन, संकलन र सम्पादनमा तयार भएको पुस्तकको विमोचन त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. ढकालले गरेका थिए ।
उनले यस पुस्तकले रानाथारु भाषाको शुद्धता, लेखन र लिपिबद्धीकरणमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोष र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपालीले भाषा, साहित्य र संस्कृति जोगाउन सक्दा मात्र जनजातिहरूको अस्तित्व सुरक्षित रहने उल्लेख गर्दै पुस्तकले रानाथारु समुदायको पहिचान निर्माणमा ठूलो योगदान पु¥याउने बताए ।
अन्य विशिष्ट अतिथिहरूमध्ये लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, भूमिसम्बन्धी आयोगका विज्ञ सदस्य तथा लेखक कमल सिं राना, साहित्यकार पदम राना, नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक मोहन चौधरी, नेपाल रानाथारु समाजका महासचिव तीर्थराज राना, पूर्व महासचिव राजकुमार राना, रानाथारु उत्थान मञ्चका सल्लाहकार धोके राना, विभिन्न वडाध्यक्षहरू तथा समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नेपाल रानाथारु महिला संघकी अध्यक्ष प्रेमवती रानाले उक्त पुस्तकले समुदायको भाषा, साहित्य र संस्कृतिको अभिवृद्धिमा सशक्त भूमिका खेल्ने आशा व्यक्त गरिन् ।







