काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले अब राजनीतिबाट पछि नहट्ने स्पष्ट घोषणा गरेकी छन्। मंगलबार काठमाडौंको भंगालस्थित आफ्नै निवासमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले राष्ट्रपतिको भूमिकामा पार्टीकै निर्णयमा पुगेको बताउँदै, अब सक्रिय राजनीतिमा पूर्ण रूपमा फर्किसकेको र पछि नहट्ने बताइन्।
“पार्टीले पठायो, पार्टीमै फर्किएँ”
भण्डारीले भनिन्, “पार्टीले मलाई राष्ट्रपतिको भूमिकामा पठाएको थियो, अहिले म फेरि त्यही माटोमा फर्किएको हुँ, अब फर्किन्न।” उनले आफू एमालेकै निर्णयअनुसार राष्ट्रपतिको जिम्मेवारीमा पुगेको स्मरण गराउँदै, अहिलेको संलग्नता पनि पार्टीको हिस्सा भएको स्पष्ट पारिन्।
“राष्ट्रपति बन्न सजिलो निर्णय थिएन”
भण्डारीले राष्ट्रपतिको जिम्मेवारी लिने निर्णय आफैँमा कठिन भएको उल्लेख गरिन्। उनले भनिन्, “राष्ट्रपति बन्ने प्रस्ताव आएपछि रातभर निन्द्रा लागेन, छोरीहरूले बुवाको सपना पुरा गर्नुपर्ने हो कि भनेर सोधिरहन्थे।” तर उनले राष्ट्रपतिका रूपमा गरेका निर्णयप्रति कुनै पछुतो नरहेको बताइन्। संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिस सदर गर्नु आफ्नो निर्णय भएको र त्यो गल्ती नभएको दाबी गरिन्।
एमालेभित्र मतभेद सतहमा
भण्डारीको सक्रिय राजनीतिमा फिर्तीपछिको कदमले नेकपा एमालेभित्र सत्ता संघर्ष सतहमा आएको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्व पक्षले भण्डारीको पुनरागमनप्रति असन्तुष्टि जनाइरहेका छन्। पार्टीको सचिवालयदेखि पोलिटब्युरो र केन्द्रीय समिति बैठकसम्म उनीप्रतिको चासो बढ्दै गएको देखिन्छ।
“आवाज उठाउनेहरूलाई दमन गर्ने प्रवृत्ति बढ्दै”
भण्डारीले पार्टीभित्र आलोचनात्मक आवाज दबाउन खोजिएको आरोप लगाइन्। उनले भनिन्, “कार्यकर्तालाई आतंकित तुल्याउने, बोल्न नदिने र आलोचकलाई दमन गर्ने प्रवृत्ति मौलाइरहेको छ। यो पार्टीको आन्तरिक लोकतन्त्रका लागि खतरा हो।”













