सुनसरी । साहित्य, संस्कृति र सामाजिक सेवामा योगदान दिएका धमला वंशीय स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले ‘धमला सामाजिक सेवा प्रतिष्ठान’ सुनसरी शाखाले आयोजना गरेको ‘स्रष्टा धमला सम्मान’ कार्यक्रम सम्पन्न भएको छ।
तरहरास्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा प्रतिष्ठान केन्द्रीय अध्यक्ष डा. भेषप्रसाद धमलाको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा देश–विदेशमा रहेर साहित्य सिर्जना र अनुसन्धानमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि डा. धमलाले पूर्वमन्त्री तथा लेखक कल्पना धमला (धादिङ), कवि चेतनाथ धमला (ओखलढुंगा), धमला वंशावली अनुसन्धाता अग्नीधर धमला, खण्डकाव्यकार रमेशप्रसाद धमला, कवि जीवनाथ धमला, कवि भीम धमला (भारत, असम), उपन्यासकार सन्ध्या उपाध्याय धमला र कवि लोकनाथ शर्मा धमलालाई सम्मान प्रदान गरेका थिए । लोकनाथ शर्मा धमलाको सम्मान प्रतिनिधि गजेन्द्र धमलामार्फत अर्पण गरिएको थियो।

त्यसैगरी, कीर्तिशेष अनुसन्धाता तिलप्रसाद धमला, प्राडा भूपप्रसाद धमला, योगविद् डा. टीपी धमला, पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमला, पत्रकार तथा कवि कृष्णराज धमला, कवि जानुका धमला, र गजलकार पुष्पा धमला चौलागाईंलाई काठमाडौंमा विशेष कार्यक्रममार्फत सम्मान गरिने जानकारी दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. धमलाले सामाजिक चेतनाका लागि साहित्यिक स्रष्टाहरूको भूमिका महत्वपूर्ण रहेको बताए । बदलिँदो विश्व सन्दर्भमा पर्यावरणीय संकटलाई दृष्टिगत गर्दै साहित्यकारहरू अग्रसर हुनुपर्ने धारणा राखे।
विशिष्ट अतिथिहरूले पनि सम्मानप्रति आभार प्रकट गर्दै साहित्यमा विचार, मौलिकता र सामाजिक प्रतिबद्धताको महत्व औंल्याए। पूर्व मन्त्री कल्पना धमलाले लेखनका विविध पक्षबारे विचार व्यक्त गर्दै कविता वाचन गरे। चेतनाथ धमलाले धमला समुदायका स्रष्टाहरूको पहिचान र योगदानको सम्मानले सामाजिक रूपान्तरणमा सहयोग पुग्ने धारणा राखे। भारत, असमबाट आएका कवि भीम धमलाले नेपाल र नेपाली भाषाप्रतिको माया व्यक्त गर्दै कविता सुनाएका थिए।
कार्यक्रममा गोपीनाथ धमला, प्रेमप्रसाद धमला, लीलानाथ शर्मा गौतमलगायत अतिथि वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमका सभाध्यक्ष तथा प्रतिष्ठान सुनसरी शाखाका अध्यक्ष रमेशप्रसाद धमलाले साहित्यिक खोज र सिर्जनामा समर्पित धमलाहरूको योगदान उजिल्याउने उद्देश्यले यो सम्मान आयोजना गरिएको बताए। कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद धमलाले स्वागत मन्तव्य र कार्यक्रम संयोजक नीलप्रसाद धमलाले ओैचित्य मन्तव्य राखे। कार्यक्रमको सञ्चालन सुरेशप्रसाद धमलाले गरेका थिए। साहित्य, भाषा र संस्कृतिको प्रवद्र्धनमा ‘स्रष्टा धमला सम्मान’ कार्यक्रम एक प्रेरणादायी प्रयासका रूपमा स्थापित भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।







