काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले औपचारिक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।
नामावली, उजुरी र अन्तिम सूचीको समय
सोही दिन (असोज २१) बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म गर्न सकिनेछ।
उजुरीको जाँचबुझ र निर्णय प्रक्रिया असोज २२ को ३ बजेपछि सुरु भई असोज २३ बेलुका ५ बजेसम्म सकिनेछ।
पुनः संशोधित उम्मेदवार नामावली सोही दिन (असोज २३) बेलुका ५ देखि ७ बजेसम्म सार्वजनिक हुनेछ।
नाम फिर्ता गर्ने समय असोज २४ बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ।
अन्तिम उम्मेदवार नामावली असोज २४ दिउँसो १ देखि ३ बजेसम्म प्रकाशित, त्यसपछि बेलुका ३ देखि ६ बजेसम्म चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
मतदान कार्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदानका ४८ घण्टा अगाडि अर्थात् कात्तिक १४ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।
आयोगले २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएकाहरू उपनिर्वाचनका उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानसमेत स्मरण गराएको छ। सबै मतदान केन्द्रमा मतदान सम्पन्न भई मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मात्र मतगणना सुरु गरिने आयोगले स्पष्ट पारेको छ।
रूपन्देही–३ को यो उपनिर्वाचन विभिन्न राजनीतिक दलको नजरमा विशेष महत्त्वपूर्ण मानिएको छ। आगामी दिनमा उम्मेदवार चयन र गठबन्धनको रणनीति राजनीतिक बहसको केन्द्र बन्ने निश्चित देखिन्छ।







