काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा ओली आगामी सेप्टेम्बर १६ मा नयाँ दिल्ली प्रस्थान गर्ने तय भएको हो।
ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले उनलाई पहिलोपटक औपचारिक रूपमा ‘रातो कार्पेट स्वागत’ गर्न लागेको हो। भ्रमणका क्रममा दुई पक्षीय सम्बन्ध, व्यापार, सुरक्षा, पूर्वाधार विकासलगायत विषयमा उच्चस्तरीय वार्ता हुने अपेक्षा गरिएको छ।
यसअघिको कार्यकालको तुलनामा यसपटक ओली र मोदीबीच प्रत्यक्ष द्विपक्षीय भ्रमण नभएको अवस्थामा यो भ्रमण विशेष महत्वका साथ हेरिएको छ। यसबीचमा दुबै नेताबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ओलीको निमन्त्रणामा प्रधानमन्त्री मोदी पनि आगामी अक्टोबर वा नोभेम्बरको पहिलो साता नेपाल भ्रमणमा आउने तयारीमा छन्।
नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन यी दुई उच्चस्तरीय भ्रमणले सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।













