काठमाडौं । नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तिहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरेका हुन्।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय परिषद सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, नेपाली कांग्रेस निकट लेखक तथा पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), कलाकार केशर बिसी, एमालेका रामेछापका पूर्व वडा अध्यक्ष भीमबहादुर मगर लगायत रहेका छन्।
स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तन सम्भव बनाउन माओवादीको त्याग, समर्पण र संघर्षलाई जनताले चिन्न थालेको बताए। उनले परिवर्तनलाई संस्थागत गर्न कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे। ‘हामीले तीनपटक सरकारको नेतृत्व गर्दै मुलुकमा ऐतिहासिक रूपान्तरणको पहलकदमी लिएका छौं। नेपाली समाजको नयाँ खाका कोर्न माओवादी नै सक्षम छ,’ अध्यक्ष प्रचण्डले भने।
उनले आफ्नो नेतृत्वको सरकारले सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा ध्यान दिएको बताउँदै कलाकारहरूलाई पार्टीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइएको बताए। निकट भविष्यमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई पार्टीमा संगठित गरिने जानकारी उनले दिए।
कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछानेले नेपाली कांग्रेसमा लामो समयसम्म क्रियाशील रहे पनि पछिल्लो समय पार्टीका गतिविधि आत्मसात गर्न नसकेकाले माओवादी रोजेको बताए। कार्यक्रममा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम कुमाखीले सहजीकरण गरेका थिए।













