काठमाडौं । भ्रष्टाचारको छानबिन र कडा कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गराएको छ। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले टंगालस्थित आयोगको कार्यालयमा उक्त निवेदन बुझाएको हो।
निवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको बताउँदै, यसको नियन्त्रण र छानबिन गर्न जिम्मेवार निकायहरू स्वयं निष्क्रिय र निष्प्रभावी बनेको आरोप लगाए।
उनले २०४६ सालपछि सत्तामा पुगेका उच्चपदस्थ नेता, कर्मचारी तथा उनीहरूका नातेदारहरूसमेतको अनुसन्धान गर्नुपर्ने माग राखे। “अब भ्रष्टाचार कहाँ छ भनेर होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,” उनले गम्भीर टिप्पणी गरे।
अध्यक्ष लिङ्देनले मन्त्रीहरूबीच छिटो र बढी कमाउने प्रतिस्पर्धा चलेको आरोप लगाउँदै, राजनीतिक नेतृत्व नै छानबिनको दायराबाहिर रहँदा अख्तियार जस्ता संवैधानिक निकायहरूको निष्पक्षता र विश्वसनीयता माथि गम्भीर प्रश्न उठेको बताए।
उनका अनुसार आयोगले विगतमा चर्चित सुडान घोटाला, ललिता निवास, वाइडबडी, ओम्नी र एनसेल प्रकरणजस्ता ठूला भ्रष्टाचार काण्डमा कुनै ठोस कार्यवाही नगरेको अवस्था देखिएको छ। राप्रपाले यस्ता प्रकरणहरूमा निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिनको माग गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।













