काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसँग जोडिएको अडियो रेकर्ड आफ्नो चरित्र हत्या गर्नकै लागि सार्वजनिक गरिएको दाबी गरेका छन्।
मन्त्रालयको वार्षिक उपलब्धिसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले केही दिनदेखि आफू र आफ्ना परिवार सदस्यलाई जोडेर सुनियोजित ढंगमा अडियो रेकर्ड बाहिर ल्याइएकोप्रति आपत्ति जनाए। “देश र जनताका पक्षमा काम गरिरहेको मन्त्रीको छवि बिगार्न षड्यन्त्रपूर्वक अडियो सार्वजनिक गरिएको हो,” उनले भने।
उनले आफू मन्त्रालयमा आएपछि भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा थुप्रै सुधार र सकारात्मक काम भएको दाबी गर्दै भने, “त्यस्ता कामको मूल्यांकन र सराहना गर्नुको सट्टा उल्टो मेरो चरित्रमाथि आक्रमण भइरहेको छ, जुन खेदजनक छ।”
मन्त्री अधिकारीले विवादित अडियो रेकर्डको यथार्थ छानबिन हुनु पर्नेमा आफू सकारात्मक रहेको स्पष्ट गरे। “सञ्चारकर्मीहरूलाई आग्रह छ— विषयको गहिराइमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गरिदिनुहोस्। दोषी ठहरिएँ भने जुनसुकै सजाय भोग्न तयार छु,” उनले भने।
उनले ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माणमार्फत मन्त्रालयबाट प्रभावकारी सेवा प्रवाह भइरहेको उल्लेख गर्दै व्यक्तिविशेषको बदनाम गर्ने नियतले यस्तो प्रचार गरिएको टिप्पणी गरे।













