September 23, 2026

अध्यक्ष प्रचण्डको आरोप– बजेटमै दलितमाथि छुवाछुत

अध्यक्ष प्रचण्डको आरोप– बजेटमै दलितमाथि छुवाछुत

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकार सम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरिएको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष सम्बोधन गर्दै उनले दलित समुदायमाथी अहिलेको सरकारले बजेटमै छुवाछुत गरेको गम्भिर आरोप लगाउँदै बजेटमार्फत दलित समुदायमाथि राज्यले विभेद गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, दलित समुदायमाथि बजेटमै छुवाछुत गरियो । अधिकारसम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरियो । समाजमा मात्र होइन, तपाईंहरूको बजेटमै दलितमाथि विभेद देखिन्छ ।’

प्रचण्डले विगत वर्ष प्रस्ताव गरिएको ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ अन्तर्गत १ लाख रिटर्नी प्रवासी युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम र सहीद मार्गजस्तो पर्यटकीय महत्वको २२० किलोमिटर लामो परियोजनामाथि सरकारको प्रतिशोध देखिएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘आफ्नो नेतृत्वको सरकारको पालामा बजेट तर्जुमा प्रक्रियालाई ‘कर्मकाण्ड’ बाट मुक्त गर्न नयाँ क्यालेन्डरसहित लोकतान्त्रिक विधि लागू गरिएको थियो, जसले जनप्रतिनिधिको सहभागिता सुनिश्चित गथ्र्यो ।

‘तर, अहिले त्यो विधि भत्काइयो, बजेट निर्माण प्रक्रिया नै एक समूह विशेषको सेटिङमा सीमित बनाइयो ।’ उनले बजेटका नाममा जनताको सपना नभएर, स्वार्थ समूहको सौदाबाजी भएको दाबी गर्दै भने, ‘जब बजेट नै सहभागिताहीन, जब नीतिगत निर्णय नै प्रतिशोधको आधारमा लिइन्छ, तब जनता के अपेक्षा गर्ने ।’

आत्मनिर्भर अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण मानिएका ‘घरेलु मदिराको व्यवस्थापन र ब्राण्डिङ’, ‘औषधीय प्रयोजनका लागि गांजा खेती’ जस्ता कार्यक्रमप्रति सरकारले चासो नदेखाएको भन्दै उनले गम्भीर असन्तोष प्रकट गरे ।

युवा रोजगारी र राष्ट्र निर्माणप्रति सरकारको उदासीनता देखाउँदै उनले भने, ‘मेरो सरकारको पालामा ‘राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम’ अन्तर्गत एक लाख युवा परिचालन गर्न ३ अर्ब बजेट विनियोजन गरिएको थियो, तर तपाईंहरूले त्यो बजेट नै फ्रिज गर्नुभयो।’

उनले ‘स्टार्टअप उद्यमशीलता कार्यक्रम’को बजेट झण्डै एकतिहाईले कटौती गरिएको तथ्य प्रस्तुत गर्दै, सरकार उद्यमशीलता र नवाचारभन्दा पनि दलालहरूको स्वार्थतर्फ उन्मुख भएको संकेत गरे ।

सम्बन्धित खबरहरु

भर्खरै