दमक । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणबारे सार्वजनिक रूपमा फैलाइएको ‘झूठा प्रचार’ प्रति कडा आपत्ति जनाएका छन्।
आइतबार झापाको दमक नगरपालिकामा आयोजित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन समारोहमा बोल्दै ओलीले भ्रमण सफल भएको तथ्यलाई ओझेलमा पार्ने प्रयास भइरहेको आरोप लगाए।
“म स्पेन गएको थिएँ, त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो,” ओलीले भने, “त्यो भूमिका सहन नसकेर केही अपोजिसन पार्टी र अराजकतावादीले ‘मान्छे छाडेर आएको’ भन्ने वाहियात कुरा फैलाएका छन्। के त्यो सम्भव छ? प्रमाणित गर्न सकिने कुरा हो?”
झूटो प्रचारले लोकतान्त्रिक राजनीति कमजोर पार्ने भन्दै उनले यस्ता क्रियाकलाप रोक्न आग्रह गरे। “झूट बोलेर राजनीति कति दिन टिक्छ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु,” उनले चेतावनी दिए।
सो अवसरमा ओलीले देशभर विकास निर्माणको लहर ल्याउने क्रममा दमकको यो सडक स्तरोन्नति आयोजना पनि एक उदाहरण भएको बताए। “हामीले मेचीदेखि महाकालीसम्म विकासका काम सुरु गरेका छौं, ती काम सक्ने अभियानमा सरकार लागिरहेको छ,” उनले भने।
त्यसैगरी ओलीले दमकको बेलडाँगी क्षेत्रमा ‘विशाल रंगशाला’ निर्माणको घोषणा गर्दै, आगामी दिनमा झापा क्षेत्रीय खेलकुदको केन्द्र बन्ने दाबी गरे।













