September 23, 2026

विद्यालयस्तरीय भानुभक्तका कविता वाचन प्रतियोगिता सम्पन्न

विद्यालयस्तरीय भानुभक्तका कविता वाचन प्रतियोगिता सम्पन्न

काठमाडौं । सूर्यविनायक नगरपालिकाका माध्यमिक विद्यालयहरूबीच आयोजित भानुभक्तका रचनाहरूको वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिता काठमाडौं वल्र्ड स्कुलको आयोजनामा सोही स्कुलको लुम्बिनी हलमा सम्पन्न भएको हो।

कार्यक्रममा नगरपालिका भित्रका नौवटा विद्यालयहरू सहभागी भएका थिए। प्रमुख अतिथिका रूपमा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवाल तथा विशिष्ट अतिथिका रूपमा भक्तपुर प्याप्सनका अध्यक्ष राजेश कसपालको उपस्थिति रहेको थियो।

कार्यक्रमका निर्णायकहरूमा कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीय र छन्दकवि कलानिधि दाहाल रहेका थिए । प्रतियोगितामा क्यान्डिड करियर स्कुलकी सुदेसा चौलागाई प्रथम स्थान प्राप्त गर्न सफल हुनुभयो। प्रेसस स्कुलकी अनुष्का अधिकारी द्वितीय र मोर्डन स्कुलका सुरेश ढुंगाना तृतीय भएका थिए । रेन्बो स्कुलकी सदीक्षा रेग्मीले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् ।

कार्यक्रममा काठमाडौं वल्र्ड स्कुलकी शैक्षिक तथा गुणस्तर नियन्त्रक याङ्किला लामाले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमका संयोजक राजेश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । सांस्कृतिक प्रस्तुतिका क्रममा विद्यालयका कक्षा एकका विद्यार्थीहरूले स्वागत कविता वाचन गरेका थिए। कक्षा ९ की मेहेर श्रेष्ठ र कश्वी खतिवडाले भानुभक्तका कविता वाचन गरेका थिए भने कक्षा ८ का विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली शिक्षिका रञ्जु दाहाल र कुमारी प्रजापतीले संयुक्त रूपमा गरेकी थिइन् । कार्यक्रम बिहान ९ः३० बजे सुरु भइ ११ः३० बजेसम्म सञ्चालन भएको थियो। भानुभक्त आचार्यको योगदानको स्मरण र नेपाली साहित्यप्रति विद्यार्थीहरूमा अभिरुचि जागृत गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमले विद्यार्थीहरूमा सृजनात्मकता र भाषा संवेदनशीलताको अभिवृद्धिमा योगदान पु¥याएको आयोजक पक्षले बताएको छ।

सम्बन्धित खबरहरु

भर्खरै