काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको अन्तर्राष्ट्रिय छवि उँचो बनाएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको सहभागिता, सम्बोधन र साइडलाइन भेटवार्ताबाट वैदेशिक सम्बन्ध सुदृढ भएको बताए।
“सम्मेलनको अवसरले नेपालको राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ भएको छ,” उनले भने, “अतिकम विकसित मुलुकको विकासका पक्षमा पनि प्रभावकारी पैरवी गरिएको छ।”
प्रधानमन्त्री ओलीले सम्मेलनमा आर्थिक कूटनीति, जलवायु वित्त, विकास साझेदारी र लगानी प्रवर्धन जस्ता विषयमा महत्वपूर्ण छलफल र प्रस्तावहरू अघि सारिएको जानकारी दिए।
उनले भने,“विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक तथा अनौपचारिक विकास सहयोग र जलवायु वित्तमा सहयोगको आह्वान गरिएको छ। विकास साझेदारीका प्राथमिकताहरू मुखरित गर्न प्रयास गरिएको हो।”
प्रधानमन्त्रीले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार, सक्षम र साझेदार राष्ट्रको रूपमा स्थापित गराउने काम भएको बताए। “आर्थिक कूटनीतिलाई अझै सुदृढ पार्दै वैदेशिक लगानी बढाउने अपेक्षा गरिएको छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो। उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूको समूहको तर्फबाट नेतृत्व गर्दै सम्बोधन गरेका थिए भने विभिन्न गोलमेच बैठक र साइडलाइन छलफलमा पनि सहभागिता जनाएका थिए।













