काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। उनले मेटाले तोकिएको म्यादसम्म पनि दर्ता नगरेको भन्दै अब थप समय नदिइने र दर्ता नभए प्रतिबन्ध लगाइने स्पष्ट पारेका हुन् ।
शुक्रबार राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तीनपटकसम्म सूचना जारी गर्दा पनि मेटाले अटेरी गरेको बताए। ‘तेस्रो पटकको सूचना पनि सकिएको छ, अब सात दिनभन्दा बढी कुर्न सकिँदैन,’ उनले भने, ‘दर्ता नभए फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता मेटाका सेवाहरू नेपालमा बन्द हुन्छन्।’
उनले मेटाको सेवा प्रयोगबाट हरेक घण्टा ठूलो मात्रामा पैसा बाहिरिनु देशको आर्थिक हितविरुद्ध रहेको टिप्पणी गरे। ‘हाम्रो समाजबाट पलपलमा हजारौँ रुपैयाँ मेटाको खातातिर गइरहेको छ,’ मन्त्री गुरुङले भने, ‘यहाँ दर्ता हुनुपर्दैन? कर तिर्नुपर्दैन?’
उनले नेपाल सरकार मेटालाई खोज्दै हिँड्नुपर्ने अवस्था आएको भन्दै त्यसको घमण्डपूर्ण व्यवहारप्रति असन्तुष्टि जनाए। ‘देशभन्दा ठूलो रे उनीहरू! नेपालको जीडीपी कति हुन्छ र? हाम्रो संस्थाभन्दा पनि सानो हो रे नेपाल,’ उनले आक्रोश पोख्दै भने, ‘मुलुकको स्वाधीनता पैसामा जोडिँदैन।’
सरकारले यसअघि तीनपटक मेटालाई नेपालमा दर्ता हुन सूचना जारी गरेको थियो। तर कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको भन्दै मन्त्री गुरुङले अब निर्णायक कदम चालिने संकेत दिएका छन्।












