September 24, 2026

साहित्यिक पत्रकारिताका समस्या समाधान गर्न सञ्चारमन्त्रीसमक्ष ७ बुँदे माग

साहित्यिक पत्रकारिताका समस्या समाधान गर्न सञ्चारमन्त्रीसमक्ष ७ बुँदे माग

काठमाडौं । नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारितासँग सम्बन्धित समस्या समाधान तथा यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि सरकारसँग ७ बुँदे माग राखेको छ।

सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई मन्त्रालयमै भेटेर साहित्यिक पत्रकारिताका समस्या समेटिएको ध्यानाकर्षणपत्र बुझाएको हो।

ध्यानाकर्षणपत्रमा साहित्यिक पत्रपत्रिकालाई अन्य सञ्चारमाध्यमभन्दा फरक प्रकृतिको भएकाले कर्मचारीसम्बन्धी व्यवस्था सहज बनाउनुपर्ने माग गरिएको छ। साहित्यिक पत्रिकाहरू प्रायः निजी पहलमा प्रकाशन हुँदै आएको र तलबी कर्मचारी नराखिने भएकाले कर्मचारीसम्बन्धी अनिवार्य प्रावधान लागू नगर्न सङ्घले आग्रह गरेको छ।

त्यस्तै, द्वैमासिक, त्रैमासिकलगायत साहित्यिक पत्रपत्रिकालाई समेत हुलाक सुविधा उपलब्ध गराउन, लोककल्याणकारी विज्ञापनबापत प्राप्त हुने रकममा समयानुकूल वृद्धि गर्न र साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउन माग गरिएको छ।

सङ्घले प्रेस काउन्सिल नेपालमा आफ्नो सिफारिसमा सदस्य मनोनयन गर्ने विद्यमान व्यवस्थालाई निरन्तरता दिनुपर्ने मागसमेत अघि सारेको छ। प्रस्तावित मिडिया काउन्सिलमा पनि सोही व्यवस्था कायम गर्नुपर्ने उसको भनाइ छ।

यसैगरी, सञ्चार मन्त्रालयबाट सङ्घलाई प्रदान हुँदै आएको आर्थिक अनुदानलाई निरन्तरता दिन तथा प्रविधिको विकाससँगै सञ्चालनमा आएका साहित्यिक अनलाइन पत्रिकालाई समेत व्यवस्थित वर्गीकरण गर्नुपर्ने माग ध्यानाकर्षणपत्रमा उल्लेख छ।

प्रतिनिधिमण्डलसँगको भेटमा सञ्चारमन्त्री डा. तिमल्सिनाले साहित्यिक पत्रकारिताले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा संवर्द्धन गर्दै नयाँ पुस्तासम्म त्यसलाई पुर्‍याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने उनको भनाइ थियो।

दुर्गम तथा ग्रामीण क्षेत्रबाट हुँदै आएको पत्रकारितालाई सरकारले उचित प्राथमिकता दिने बताउँदै मन्त्री तिमल्सिनाले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित गर्न लागिएको जानकारी दिए। साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सङ्घले राखेका मागहरू सकारात्मक रहेको बताए।

भेटमा सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार रोचक घिमिरे, वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, उपाध्यक्ष रामप्रसाद पन्त, महासचिव चेतनाथ धमला, उपमहासचिव नवराज रिजाल, सचिवालय सदस्य गणेश राई तथा केन्द्रीय सदस्यहरू प्राज्ञ हंसावती कुर्मी, विष्णु भण्डारी र पुण्यप्रसाद घिमिरेलगायत सहभागी थिए।

सम्बन्धित खबरहरु

भर्खरै