काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा ‘प्राइमरी’ निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत समसामयिक राजनीतिक प्रस्तावमा महामन्त्री थापाले सदस्यतामा आधारित ‘प्राइमरी’ निर्वाचन प्रणाली लागू गर्ने विषय समेटेका छन्। यससँगै मतदाताको अधिकारलाई अझ अर्थपूर्ण बनाउन ‘नो भोट’को कानुनी सुनिश्चितता गर्नुपर्ने प्रस्ताव समेत राखिएको छ।
प्रस्तावमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय पनि उल्लेख गरिएको छ। “मतदाताको अधिकारलाई अर्थपूर्ण बनाउन नो भोटको कानुनी सुनिश्चिता र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गरिनेछ भने उम्मेदवार चयनमा सदस्यतामा आधारित प्राइमरी निर्वाचन जस्ता लोकतान्त्रिक अवधारणाहरू संस्थागत गरिनेछ,” प्रस्तावमा भनिएको छ।
यससँगै महामन्त्री थापाले राजनीतिक दलको आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न राज्य कोषबाट खर्च दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। प्रस्तावअनुसार प्राप्त मतभारका आधारमा राजनीतिक दलहरूलाई राज्य कोषमार्फत अनुदान उपलब्ध गराउने र दलहरूको आर्थिक गतिविधिमा कठोर वित्तीय अनुशासन लागू गरिने उल्लेख छ। विशेष महाधिवेशनमा प्रस्तुत उक्त प्रस्तावमाथि बन्दसत्रमा छलफल जारी छ।













