काठमाडौं । ओखलढुंगा: जिल्लामा हत्या र लुटपाट गर्ने चारजनाको गिरोह पक्राउ परेको छ। सीआईबी, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले तीन महिनायता दुई घटनामा तीन जनाको हत्या गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा चिशंखुगढी–३ का २८ वर्षीय मिलन (संगम) राई, चिशंखुगढी–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र माम्खा–८ का ३० वर्षीय दोर्जे (अशोक) भुजेल छन्।
गत पुस १५ गते चिशंखुगढी–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्ने ६० वर्षीय दम्पती शोभितमान र रत्नमाया थापाको हत्या गरी १ लाख नगद र ८ तोला सुन लुटिएको थियो। प्रारम्भिक सोधपुछमा उनीहरू असोज २६ गते चार्खुमा ५२ वर्षीया रत्न कुमारी कटवालको हत्या र लुटपाटमा पनि संलग्न रहेको खुलेको छ।
अभियुक्तहरूसँग बन्चरो, दुई नाल भरुवा बन्दुक, सुनका गरगहना र मोबाइल बरामद भएको छ। प्रहरीले गिरोहको उद्देश्य धनलुट भएको बताउँदै अन्य घटनामा संलग्न हुन सक्ने आशंका राखेको छ।







