काठमाडौं । ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक दम्पतीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको हो।
बिहान अबेरसम्म पनि दम्पती घरबाट बाहिर ननिस्किएपछि छिमेकीहरूले खोजी सुरु गरेका थिए। बाहिरबाट बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गरी हेर्दा दुवै जनालाई मृत अवस्थामा फेला पारिएको छिमेकीले बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार धारिलो हतियार प्रयोग गरेर दम्पतीको हत्या गरिएको आशंका गरिएको छ।
घटनाको गहिरो अनुसन्धानका लागि कोसी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।
हालसम्म शव घटनास्थलमै राखिएको छ। “त्यो घरमा पति–पत्नी मात्रै बस्दै आएको खुलेको छ, छोराछोरी बाहिर रहेका छन्। तालिम प्राप्त कुकुरबाट आवश्यक अनुसन्धान नगरी शव उठाइने छैन,” उनले भने।
हत्या कसले र किन गरेको भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन। प्रहरीले सम्भावित सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। यसअघि केही महिनाअघि पनि ओखलढुंगाकै सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरमै हत्या भएको थियो। उक्त घटनाका हत्यारा अझै पहिचान हुन सकेका छैनन्।







