काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ४२औँ वार्षिकोत्सबको पहिलो चरणअन्तर्गत सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।
उनले दीपा–जनमत सम्मान निर्मोही व्यास (बारा), ‘गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान’ श्याम तमोट (भोजपुर), ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौला (ताप्लेजुङ), ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश (खोटाङ), ‘कमला सैँजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ (ललितपुर), ‘जनमत–राजभाइ सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य (खोटाङ), ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल (काठमाडौँ) तथा ‘जनमत–केदार–सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारी (काठमाडौं) लगायत ८ जना प्रतिभालाई सम्मान अर्पण गरेका थिए ।
प्रमुख अतिथि राईले सम्मानले स्रष्टालाई सामाजिक रूपमा अनुमोदन गर्ने उल्लेख गर्दै जनमत साहित्यिक पत्रकारिता नेपालको एक महत्वपूर्ण विरासत भएको बताए । विशेष अतिथि मल्ल के सुन्दरले ‘जेनजी विद्रोह के हो ?’ भनी प्रश्न गरे । त्यसको जवाफमा कुलपति राईले जेनजी विद्रोहले पुरानो संस्कृतिको विनिर्माण गर्दै नयाँ युगको थालनी गरेकाले इतिहासमा यसको विशेष महत्व रहने बताए ।
उनले प्रश्नै प्रश्नले भरिएको संघीय गणतान्त्रिक व्यवस्थाभित्र सांस्कृतिक पुनर्जागरणको युग सुरु भएको चर्चा गर्दै सबै मातृभाषाहरूलाई राज्यले समान व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे । विशिष्ट अतिथि सङ्घीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफ्नो गीति रचना प्रस्तुत गर्दै जनमतले साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको चर्चा गरिन् ।
विशेष अतिथि पूर्व सांसद तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जनमत साहित्यिक क्षेत्रको जिउँदो धरोहर भएको उल्लेख गरे । उनले जनमतले चार दशक लामो इतिहासमा निरकुुंश पञ्चायती व्यवस्थाविरुद्ध लडाइँ लडेको प्रशंग कोट्याउँदै साहित्यिक क्षेत्रमा युगबोधको भूमिका निर्वाह गरेको बताए ।
उनले कुनै पनि शास्त्रीय रुढीवादी प्रवृत्तिविरुद्ध उभिएको प्रगतिवादी सांस्कृतिक अभियान ‘राल्फा’ को प्रशंग उठाउँदै कुलपति राईलाई ‘जेनजी विद्रोह के हो ? यो विद्रोह प्रगतिवादी हो कि विनिर्माणवादी हो ? अब हामी बाँचेको युगको पहिचान के हुने हो ?’ भन्ने प्रश्न राख्दै यस विषयमा प्राज्ञिक व्यक्तित्वहरूले निरुपण गर्नुपर्ने आवश्यकता औँल्याए ।

सभाध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष एवम् जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जनमतले भाषिक, सांस्कृतिक तथा वर्गीय क्षेत्रमा कुनै विभेद, आग्रह र पूर्वाग्रह नगर्ने स्पष्ट पार्दै सबै पक्षका स्रष्टालाई समेटेर एकसाथ अघि बढ्ने नीति रहेको बताए ।
उनले गन्धा राजनीतिका कारण देश जलेर जीर्ण अवस्थामा पुगे पनि धेरै नेताहरू सचेत हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै ‘देश जलेको’ शीर्षकमा कविता वाचन गरे । विशेष अतिथि नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित प्रतिभाहरूको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
सम्मानित व्यक्तित्व नियात्राविद् निर्मोही व्यास र खेमराज निरौलाले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए भने जनवादी गायक श्याम तमोटले गीत प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य संस्थाका सचिव सिर्जना दुवालले गरेका थिए भने कार्यक्रमको उद्घोषण जनमत बाटिकाका संयोजक राजु सरकारले गरेका थिए ।
जनमत वाङ्मय प्रतिष्ठानले यसै वर्षदेखि दुई चरणमा आफ्नो वार्षिकोत्सब मनाउन थालेको जनाएको छ। त्यसअनुसार ४२औँ वार्षिकोत्सबको पहिलो चरण २०८२ मङ्सिर २७ गते शनिवार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा सम्पन्न गरिएको हो। दोस्रो चरणको कार्यक्रम २०८२ चैत २८ गते बनेपामा आयोजना गरिने संस्थाका अध्यक्ष मोहन दुवालले जानकारी दिएका छन् ।







