September 22, 2026

नेपाल–जापानबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर

नेपाल–जापानबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि महत्वपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहमा दुबै देशका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरे।

जापान सरकारले जाइकामार्फत ३४.५९ अर्ब जापानी येन (करिब रु. ३१.७६ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउनेछ। सम्झौता अनुसार ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष, तथा ब्याजदर वार्षिक ०.२ प्रतिशत रहनेछ।

आयोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि.पि. राजमार्ग हुँदै हुने सवारी आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। ट्राफिक जाम न्यूनिकरण तथा उपत्यकाको यातायात प्रणाली दोस्रो पुस्ताको पूर्वाधारमा रूपान्तरण गर्ने यो आयोजनाको कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत हुनेछ।

सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। यस्तै, ऋण सम्बन्धी दस्तावेजमा सह–सचिव डा. धनीराम शर्मा तथा जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे।

समारोहमा मन्तव्य व्यक्त गर्दै जाइकाका प्रमुख प्रतिनिधि माजुकी र राजदूत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगले उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। अर्थमन्त्री खनालले काठमाडौंको व्यस्त र जामयुक्त स्थानहरूको स्थायी समाधानका लागि यो आयोजना अत्यन्त महत्त्वपूर्ण भएको बताए।

समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित खबरहरु

भर्खरै