काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव नजिकिंदै गर्दा नेकपा (एमाले)ले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ। एमालेका केन्द्रीय सदस्य निरज आचार्यका अनुसार आयोगमा दर्ता हुने क्रममै एमाले ६६औँ नम्बरमा सूचीकृत भएको छ।
एमालेले यसअघि अन्तरिम सरकार गठन प्रक्रियाको विरोध र विघटित संसद पुनर्स्थापनाको माग राख्दै चुनावमा नजाने बताउँदै आएको थियो। तर, अन्तिम समयमा आएर पार्टीले दल दर्ता प्रक्रियामा सहभागी भएको छ। दल दर्ताको म्याद भोलि (बुधबार)सम्म तोकिएको छ।
यसैबीच, एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित मंगलबार नै सर्वोच्च अदालतमा रिट पनि दायर गरेको छ। विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रूपमा दायर गरेको रिटमा हाल नियुक्त प्रधानमन्त्री कार्कीको नियुक्ति ‘गैरसंवैधानिक’ भएको दाबी गरिएको छ।
रिटमा उल्लेख भएअनुसार, संसदीय दलले समर्थन नगरेको, संविधानले परिभाषित गरेको प्रक्रिया नपुगेको र पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइनु संविधानविपरीत भएको भन्दै कार्कीको नियुक्तिविरुद्ध अधिकार प्रमाणितिको आदेश मागिएको छ।
एमालेले संसद विघटन असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापनाका लागि सर्वोच्च अदालतसँग हस्तक्षेप मागेको छ। आगामी चुनावका लागि दल दर्ता गर्दै, न्यायिक प्रक्रियाबाट संसद पुनर्स्थापना खोज्नुलाई एमालेले ‘राजनीतिक र संवैधानिक संघर्ष’को निरन्तरता भनेको छ।













