September 22, 2026

बीपी राजमार्गको स्थायी पुनःनिर्माण थालियो

बीपी राजमार्गको स्थायी पुनःनिर्माण थालियो

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गको स्थायी पुनःनिर्माण कार्य सुरु भएको छ। पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गमा पर्ने करिब ३० किलोमिटर सडकको पुनःनिर्माण डिभिजन सडक कार्यालय भक्तपुरले थालिएको जनाएको छ।

गत वर्ष असोज दोस्रो र यस वर्ष असोज तेस्रो साता परेको बाढीपहिरोले काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको सडकका विभिन्न खण्ड बगाउँदा ठूला क्षति पुर्‍याएको थियो। कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, क्षतिग्रस्त तीन खण्ड—चौकीडाँडा, मंगलटार र नार्के–गिम्दी—मा ठेक्का सम्झौता भई स्थायी पुनःनिर्माण कार्य थालिएको छ।

पुनःनिर्माण अन्तर्गत सडक स्तरोन्नति गरी दुई लेनको सडक निर्माण गरिनेछ। हाल पाँचवटा पुललाई पनि दुई लेनमा परिवर्तन गर्न अध्ययन भइरहेको छ।

ठेक्का अनुसार, डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किमी सडक खानी–एवन–कमलजित जेभीले रु १ अर्ब ४२ करोड ३७ लाखमा निर्माण गर्नेछ। चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक लामा–नवकान्तिपुर जेभीलाई रु १ अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको छ। नेपालथोकदेखि बर्खेखोलासम्मको ४.९ किमी सडक खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले रु ६१ करोडमा निर्माण गर्नेछ।

बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्नेछ। यसका लागि जापान सरकारले रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

डिभिजन सडक कार्यालय भक्तपुरले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि सरकारले कुल रु ८ अर्ब ५० करोड स्रोत स्वीकृत गरेको छ, जसमा काभ्रेपलाञ्चोकका तीन खण्डका लागि रु ७ अर्ब ५० करोड र सिन्धुलीको एक खण्डका लागि रु १ अर्ब उपलब्ध गराइएको छ।

बीपी राजमार्ग, जापानको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ मा निर्माण सुरु भएको थियो। २०७२ असार १८ मा खण्डबद्ध रुपमा सम्पन्न राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। यस मार्गले राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गको भूमिका खेल्नेछ।

सम्बन्धित खबरहरु

भर्खरै