काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको थियो।
निवेदकको माग बमोजिम सर्वोच्चले १५ दिनभित्र ‘आदेश किन जारी हुनु नपर्ने हो’ भन्ने विषयमा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री कार्यालयलाई आदेश दिएको हो।
मुद्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयसँग सम्बन्धित छ। सर्वोच्चले यसअघि राजदूत फिर्ताबोलाउने निर्णयमा अन्तरिम आदेश जारी गरेको थियो।
तर, प्रधानमन्त्री कार्कीले उक्त आदेशको पालना नगरी राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी थिइन्। हालसम्म ११ देशका राजदूत परराष्ट्र मन्त्रालयमा हाजिर छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई प्रतिवादी बनाई अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल र विशाल थापाले अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्।













