काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई बिदाइ गरेका छन्। बुधवार मन्त्रालयमा आयोजित समारोहमा उनले ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जाने खापुङलाई सम्मानपूर्वक बिदाइ गरेका हुन्।
खापुङले भदौ १९ गते प्रहरी कमाण्ड सम्हालेका थिए। आईजीपी नियुक्त भएको पाँचौँ दिनमै काठमाडौं र इटहरीमा भएको जेनजी प्रदर्शनको क्रममा गोलीकाण्ड भएको थियो, जसमा केही किशोरको मृत्यु भएको घटना उनको कार्यकालसँग जोडिएको थियो। आईजीपीको छैटौँ दिनमा तत्कालीन कार्यकारी प्रधानमन्त्री हेलिकप्टरबाट बालुवाटार छाड्न बाध्य भए।
उनको नेतृत्वमा नेपाल प्रहरीमा ७९ हजार ५४१ जनशक्ति कार्यरत थिए। खापुङको कार्यकालमा जेनजी प्रदर्शनकारीले ४६५ प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए, जसमध्ये ४०१ कार्यालय पुनर्स्थापना भइसकेको छ। खापुङले दुई महिना सात दिन प्रहरी संगठनको नेतृत्व गरे। मन्त्रिपरिषद्ले कार्तिक २७ गतेबाट लागू हुने गरी नयाँ प्रहरी महानिरीक्षकमा दान बहादुर कार्कीको नियुक्ति गरिसकेको छ।







