काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नति निर्माणका नाममा आर्थिक अनियमितता भएको ठहर गर्दै ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित पूर्व इन्जिनियर, प्रशासकीय तथा शिक्षा अधिकृतलगायतमाथि मुद्दा पेश गरेको हो।
मुद्दामा समावेश हुनेहरूमा तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, अपरेटर हरिचन्द्र बिस्ट, प्रोजेक्टका इन्जिनियर तथा बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ र दिव्या निर्माण सेवा प्रालिका भीमराज न्यौपाने रहेका छन्।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिएको हो।
२०७८/०७९ आर्थिक वर्षमा वडा नं–५ को खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिए पनि प्रक्रिया औपचारिकता मात्र पूरा गरी मिलेमतोमा दिव्या निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको अनुसन्धानबाट प्रमाणित भएको आयोगको भनाइ छ।
कामको वास्तविक प्रगति नदेखिँदै भुक्तानी लिई रकम गैरकानुनी लाभका रूपमा प्रयोग गरिएको र यसले नगरपालिकालाई हानि पुर्याएको ठहरसहित उनीहरूविरुद्ध सजाय र बराबरको बिगो असुल गर्न माग गरिएको आरोपपत्रमा उल्लेख छ।







