काभ्रेपलाञ्चोक । बाढी र पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि अवरुद्ध भएको राजमार्गमा ‘डाइभर्सन’ बनाएर आइतबार बिहानदेखि सवारी सञ्चालन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए।
उनका अनुसार काभ्रेको रोशी गाउँपालिका–८ चारसय बेँसीमा ५० मिटर डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो। लगातारको सुक्खा पहिरोका कारण अवरोध हटाउन कठिनाइ भए पनि सडक अहिले सञ्चालनमा आएको छ।
यही कात्तिक १३ गतेदेखि परेको अविरल वर्षाले राजमार्गका विभिन्न भागमा पहिरो खसेर आवागमन ठप्प भएको थियो। कार्यालयले क्षतिग्रस्त भाग स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रियामा अघि बढाएको जनाएको छ।







