काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ पुगेका छन्। उनले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरी फोहोर व्यवस्थापनसम्बन्धी समझदारी जुटाएका छन्।
करिब एक सातादेखि स्थानीयले फोहोर फाल्न रोकेका थिए। मन्त्री घिसिङले तत्काल गर्न सकिने कामहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हट्ने भएको हो।
ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईका अनुसार “१५ दिनभित्र गर्न सकिने कामको सूची सहरी विकास मन्त्रालयमा छलफल गरेर टुंगो लगाइने सहमति भएको” बताइएको छ।
स्थानीयले बञ्चरेडाँडा वरपर २५ सय मिटर क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न, फोहोरको वैज्ञानिक व्यवस्थापन सुनिश्चित गर्न, र पहिल्यै गरिएका सम्झौताहरू कार्यान्वयन गर्न माग गर्दै आएका थिए। ती माग पूरा नभएको भन्दै गत मंगलबारदेखि स्थानीयले अवरोध गरेका थिए, जसका कारण करिब २२ स्थानीय तहको फोहोर थन्किएको थियो।
आज समझदारी बनेपछि बाटोमा रोकिएका करिब १५० ट्रक फोहोर बञ्चरेडाँडातर्फ अघि बढेका छन्। काठमाडौं र आसपासका स्थानीय तहबाट दैनिक करिब १२ सय टन फोहोर सो स्थलमा पुर्याइने गर्छ।
हाल बञ्चरेडाँडामा फोहोर वर्गीकरण नगरी फालिँदा ल्याण्डफिल साइट र लिचेड पोखरी भरिएको र प्रदूषित पानी कोल्पुखोलामा मिसिएको भन्दै स्थानीयले असन्तोष जनाउँदै आएका छन्।







