September 22, 2026

‘खसिया आखर’ शब्दकोश लोकार्पण : खस भाषाको जगेर्ना र पुस्तान्तरणमा ऐतिहासिक योगदान

‘खसिया आखर’ शब्दकोश लोकार्पण : खस भाषाको जगेर्ना र पुस्तान्तरणमा ऐतिहासिक योगदान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको  ‘नेपाली भाषा, कोश र व्याकरण विभाग’द्वारा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको सहकार्यमा तयार गरिएको खस भाषाको शब्दकोश ‘खसिया आखर’ एक विशेष समारोहकाबीच लोकार्पण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शब्दकोशको लोकार्पण गर्दै यसले तत्कालीन विशाल खस राज्यको ऐतिहासिक पृष्ठभूमि, खस भाषाका वक्ता र प्रयोगकर्ताबीच भाषिक सम्बन्ध सुदृढ बनाउने र खस भाषा, साहित्य र संस्कृतिको संरक्षणमा विशिष्ट योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

मन्त्री भण्डारीले कोशकार रमानन्द आचार्यको दुई दशक लामो योगदानको प्रशंसा गर्दै भने, “कर्णालीको खस राजनीति कमजोर भए पनि खस भाषाको प्रभाव र महत्त्व अझै कायम छ। ‘खसिया आखर’ले मातृभाषाको रूपमा खस भाषाको पुस्तान्तरणमा टेवा पुर्‍याउनेछ।”
उनले योगी नरहरिनाथका कृतिहरूसहित कर्णालीको भूगोल र संस्कृतिसँग सम्बन्धित पुस्तकहरूको अभिलेखन र सङ्कलनमा मन्त्रालय लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले २०३७ सालमा जुम्ला भ्रमणका क्रममा आफूले पहिलोपटक खस भाषाबारे सुनेको स्मरण गर्दै खसिया आखर’को प्रकाशनलाई गौरवको क्षण भएको बताए ।

“नेपाली भाषाको मूल स्रोत खस भाषामै छ। यो शब्दकोशले त्यस इतिहासलाई कागजी रूपमा प्रमाणित गरेको छ,” उनले भने।

सभाध्यक्ष तथा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले खस सभ्यता र मष्टो परम्परासँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै ‘खसिया आखर’ खस भाषाको इतिहासको अभिलेखका रूपमा मूल्यवान दस्तावेज भएको बताए। उनले कोशकार आचार्यको योगदानलाई “भाषिक पुनर्जागरणको कार्य” भन्दै सम्मान गरे।

डा. मधुसूदन गिरी, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य समालोचना विभाग प्रमुख,ले खस भाषाको सांस्कृतिक विकास जुम्लाका राजा बलिराज शाहीको कालदेखि सुरु भएको चर्चा गर्दै भने, “देउसी–भैलो परम्परा खस सांस्कृतिक पहिचानको आरम्भ हो, र यो शब्दकोशले त्यसलाई शास्त्रीय रूपमा जगेर्ना गर्नेछ।”

भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेलले पनि खस भाषाका केही शब्द संस्कृतका भन्दा पुराना रहेको उल्लेख गर्दै खस भाषा प्राचीन भाषाहरूमा पर्ने तर्क प्रस्तुत गरे। उनले योगी नरहरिनाथ र बालकृष्ण पोखरेलको योगदान सम्झँदै ‘खसिया आखर’लाई “ऐतिहासिक पुल” को रूपमा वर्णन गरे।

शब्दकोशका लेखक तथा कोशकार रमानन्द आचार्य, चन्दननाथ नगरपालिका–१, जुम्ला निवासी,ले शब्द सङ्कलन, उत्पत्ति, वर्णविन्यास र उच्चारणशैलीका विषयमा आफ्नो अनुभव साझा गर्दै भने, “यो काम मेरो जीवनको साधना हो, खस भाषाको आत्मा बाँचिरहोस् भन्ने मेरो चाहना थियो।”

२०६५ सालदेखि तयार हुन सुरु भएको १३४० पृष्ठको ‘खसिया आखर’ शब्दकोशमा ४० हजार खस शब्दहरू समावेश छन्। यसका प्रधान सम्पादक आचार्य स्वयं हुन् भने सम्पादन मण्डलमा तुङ्गनाथ उपाध्याय, प्रकाश खत्री, दयादत्त हमाल र हरिबाबु चौलागाईं रहेका छन्।

सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले शब्दकोशले विद्यालय पाठ्यक्रम विकास र खस भाषा शिक्षणमा सहजता ल्याउने उल्लेख गर्दै भने, “अब खस भाषा अध्ययनमा ठोस आधार प्राप्त भएको छ।”

कार्यक्रमको स्वागत मध्यपश्चिम खस साहित्य समाजका अध्यक्ष समीर शाहले गरे भने अधिकारकर्मी तथा लेखक माधव चौलागाईंले सहजीकरण गरेका थिए।

‘खसिया आखर’को प्रकाशन कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो। यो शब्दकोश खस भाषाको संरक्षण, अध्ययन र आगामी पुस्तामा हस्तान्तरणका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

सम्बन्धित खबरहरु

भर्खरै