काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । बिहान सूर्योदयकालमा कागलाई पूजा गरी दही–भात र विभिन्न मिठा परिकार खुवाएर यमराजका दूतको रूपमा सम्मान गर्ने परम्परा रहिआएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, आज आइतबार नै शास्त्रसम्मत रूपमा काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो। उनले भने, “सूर्योदयको समयमा त्रयोदशी पर्ने भएकाले आजको दिन नै शुभ र उपयुक्त छ।”
हिन्दू धर्मशास्त्र अनुसार, कागलाई यमराजका दूतका रूपमा मानिन्छ, जसले लोकका समाचार यमराजसम्म पुर्याउँछ। त्यसैले आजका दिन ‘कागले यमराजका समक्ष शुभ समाचार लगिदिओस्’ भन्ने कामना गर्दै पूजा गर्ने चलन रहिआएको छ। लोकविश्वासअनुसार, घरमा काग कराएमा शुभ समाचार आउने संकेत मानिन्छ।
‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय भनाइअनुसार कागलाई दही–भात विशेष रूपमा मन पर्ने भएकाले आजको दिन कागलाई दही–भात खुवाउने परम्परा रहिआएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना भइरहेको छ। साथै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा सम्पन्न हुँदैछ, जहाँ कागको ठूलो मूर्ति निर्माण गरिएको छ।
तिहार पर्वलाई सत्कर्म र दुष्कर्मबीचको सन्देश दिने पर्व मानिन्छ। दुष्कर्म गर्नेहरूलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेहरूलाई धर्मराजका रूपमा रक्षा गर्ने विश्वाससँग पनि यो पर्व गाँसिएको छ।
शनिबार साँझदेखि नै यम दीपदानको परम्परा सुरु भइसकेको छ। परिवारका सदस्यहरूका नाममा दक्षिण फर्काएर दीपदान गर्ने वैदिक परम्परा अनुसार यमयातनाबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ।







