September 22, 2026

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन–जीलाई राष्ट्रपतिको आग्रह

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन–जीलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेन–जीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेन–जी अभियन्ताहरूसँगको छलफलमा सो कुरा बताएका हुन् ।

उनले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्दै यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर जेन–जीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागका बारेमा सरकारले ध्यान दिने स्पष्ट पारे ।

उनले भ्रष्टचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्धन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे ।

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले वृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गरिन् ।

राष्ट्रपतिले युवाहरूलाई गरेको आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको उनले बताइन् । उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर संर्घष गरेको परिपक्क नेता पनि भएको उल्लेख गर्दै उनको भनाइ अन्तष्करणको आवाजका रूपमा लिन आग्रह गरिन् ।

जेन–जीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारे । उनीहरूले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरे । तर त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आन्दोलनका मागहरू पूरा हुनुपर्ने उनीहरूले बताए ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए । सो बैठकमा जेन–जीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।

सम्बन्धित खबरहरु

भर्खरै