काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिव र मन्त्रालयलाई निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई आज बोलाएर नर्सहरुको माग र आन्दोलनबारे बुझेर तत्काल सम्बोधन हुनेगरी कदम चाल्न र प्रगतिबारे जानकारी दिन निर्देशन दिइन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत उनले सम्हालेकी छन्।
प्रधानमन्त्री कार्कीले भने, “देशमा रहेका दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु उचित छैन। समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्नेछ।”
कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु पाँचौँ तह बराबरको पारिश्रमिक पाउने माग राख्दै आन्दोलनमा छन्। मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ तय गरेको थियो।







