काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषयमा आन्तरिक बहस तीव्र बनेको छ। पार्टीभित्र नयाँ नेतृत्व चयनका लागि विभिन्न धारणा सार्वजनिक भइरहेका बेला सभापति शेरबहादुर देउवा पक्ष भने नियमित महाधिवेशनमार्फत नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा रहेको छ।
देउवा पक्षका नेताहरूले पार्टी विधानअनुसार निर्धारित समयमै नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने मत व्यक्त गरेका छन्। उनीहरूका अनुसार विधानबाहेक अन्य माध्यमबाट नेतृत्व चयन गर्न खोज्नु पार्टी एकता र संस्थागत व्यवस्थाप्रति अन्याय हुने बताइन्छ।
यसैबीच, कांग्रेसका केही नेताहरूले पार्टीभित्र तातो राजनीतिक माहोल र संगठन सुदृढीकरणका कारण विशेष महाधिवेशनको आवश्यकता रहेको मत दिएका छन्।
तर देउवा निकट नेताहरूले भने पार्टीमा अहिले स्थिरता र एकता प्राथमिक हुने भन्दै विधानअनुसारकै प्रक्रियाबाट नयाँ नेतृत्व आउनु नै उपयुक्त रहेको बताएका छन्।
पार्टीभित्रको यो बहससँगै कांग्रेसले आगामी केन्द्रीय समिति र महाधिवेशनबारे अन्तिम निर्णय चाँडै गर्ने तयारी गरिरहेको छ।
यसैबीच नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो १५औं महाधिवेशनबाट पार्टीको नेतृत्व छोड्ने घोषणा पुनः दोहोर्याएका छन्।
जेनजी आन्दोलनपछि पहिलोपटक मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले पार्टीमा नेतृत्व हस्तान्तरणको विषय उठिरहेको उल्लेख गर्दै आफू अब सभापति पदमा नरहने स्पष्ट पार्नुभयो।
देउवाले घरमा सधैं एउटै मूली रहँदैन भन्ने दृष्टान्त दिँदै भने, “घरमा सधैं एउटै मूली रहँदैन, पार्टीमा पनि सधैं एउटै सभापति रहँदैन। मैले पहिले नै भनेको छु — १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु। आउँदो महाधिवेशनपछि मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।”













