September 22, 2026

प्रज्ञा–प्रतिष्ठान र एनआरएनएको सहकार्यमा बहुभाषिक कविगोष्ठी सम्पन्न

प्रज्ञा–प्रतिष्ठान र एनआरएनएको सहकार्यमा बहुभाषिक कविगोष्ठी सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र एनआरएनए भाषा–साहित्य समितिको संयुक्त आयोजनामा सोमबार ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन कार्यक्रम’ सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित उक्त कार्यक्रममा देश–विदेशमा रहेका ५९ जना कविहरूले नेपाली, मातृभाषा तथा अंग्रेजी भाषामा कविता वाचन गरेका थिए । कार्यक्रममा ३५ जना नेपाली भाषाका, २३ जना मातृभाषाका र १ जना अंग्रेजी भाषाका कवि सहभागी भएका थिए ।

नेपाली भाषामा कविता वाचन गर्नेहरूमा प्रा.डा. गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी ‘धड्कन’, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, रश्मि थापा, सिर्जना सरोवर, जानकी गुरुङ, सुशीला राई, राधिका कल्पित, विजय हितान, शशी श्री आचार्य, रश्मि रिमाल, योगराज राजन, सुनिल आङ्बो, रविन्द्र आशिष, जाँयस जया, उत्तम तुम्सा, जमुना पौडेल, कर्ण दयाल, दिपा लक्सम र निरन्ती तुम्बापो रहेका थिए।

त्यस्तै मातृभाषाका कविहरू अञ्जु राजवंशी (राजवंशी), ओमकृष्ण श्रेष्ठ (नेपालभाषा), जगत् वशिष्ठ (खस), गणेश वाम्बुले राई (वाम्बुले), डम्बर थामी (थामी), निशेष आङ्देम्बे (याक्थुङ), पदम बालाहाङ राई (बान्तावा), पेम्बा गेलु शेर्पा (शेर्पा), भूमिका थारु (डङ्गौरा थारु), राकेशबहादुर बुढा मगर (खाम मगर), आलोक तिवारी (अवधी), शर्मिला राना थारु (राना थारु), शोभा सुनुवार (सुनुवार), रचना मोक्तान तामाङ (तामाङ), स्नेहा झा (मैथिली), मनु ठाडा मगर (ढुट मगर), रितेश त्रिपाठी (भोजपुरी), प्रगति राई (चाम्लिङ), विमला गुरुङ (तमु), प्रकृति थारु (थारु), शिलाखा वाम्बुले राई (वाम्बुले) र अङ्ग्रेजी भाषामा निरा श्रेष्ठले कविता वाचन गरेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक वाचनले नेपाली समाजको मौलिक अनुहार झल्काएको बताए । उनले प्रवास र देशका साहित्यकारबीचको सहकार्यले साहित्यिक एकताको सन्देश दिएको उल्लेख गरे ।

सदस्य–सचिव डा.धनप्रसाद सुवेदीले एनआरएनएसँगको सहकार्यले साहित्य विकासमा नयाँ आयाम थप्ने बताए । मातृभाषा विभागका प्रमुख राजन मुकारुङले राज्यले सबै भाषामा समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।
एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले भाषा र संस्कृतिलाई नजोगाए सभ्यता नै संकटमा पर्ने बताएका थिए । पूर्व महासचिव जानकी गुरुङले प्रवासमा पनि मातृभाषा शिक्षणलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी महिला संयोजक रश्मीकाली थापाले पनि आफ्नो धारणा राख्दै भाषा र संस्कृति संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण हुने बताइन् । भाषा–साहित्य समितिका संयोजक विश्वासदीप तिगेलाले बहुभाषिक वाचनले विविधतामा एकताको सन्देश दिएको बताए । उक्त कार्यक्रममा ‘नेपाली समाचार’ साप्ताहिक पत्रिकाको लोकार्पण पनि गरिएको थियो । उक्त पत्रिका दलबहादुर लिम्बूको सम्पादनमा प्रकाशित भएको हो । कार्यक्रमको सञ्चालन कथा–कवि अमित थेबेले गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै