काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संविधानले अहिलेकै स्वरूपमा काम गर्न नसक्ने बताउँदै संशोधनसहितको परिमार्जन आवश्यक रहेको बताएका छन्।
शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति अपरिहार्य भएको जिकिर गरे।
“यो संविधानले अहिलेकै रूपमा काम गर्दैन, संशोधन र परिमार्जन गरौं,” प्रचण्डले भने, “जसका लागि राष्ट्रिय सहमति चाहिन्छ।”
उनले राष्ट्रिय स्वाधीनतामाथि अहिलेजस्तो ठूलो हस्तक्षेप र चुनौती पहिले कहिल्यै नआएको दाबी पनि गरे।
“राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप पहिले थिएन, अहिलेको चुनौती ऐतिहासिक रूपमा गम्भीर छ,” उनले भने।
प्रचण्डका अनुसार देश राजनीतिक संकटबाट अझै ननिस्किएको र त्यसको समाधानका लागि सबै राजनीतिक शक्तिहरूबीच संवाद र सहमति जरुरी छ।
जेनजी युवा आन्दोलनले संविधानप्रति नयाँ सोच र कोण ल्याएको उल्लेख गर्दै उनले भने, “नयाँ पुस्ताले संविधानलाई नयाँ दृष्टिकोणबाट सोच्ने अवसर दिएको छ, यसलाई गम्भीर रूपमा लिनुपर्छ।”
माओवादी केन्द्रले यसअघि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने माग उठाउँदै आएको छ, जुन अहिले पनि पार्टीको प्रमुख एजेन्डा रहेको प्रचण्डले दोहोर्याए।













