काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसंख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरूवा–जातिरि’ नामक बहुभाषिक पत्रिका सार्वजनिक गरेको छ ।
यो पत्रिका २६औँ मातृभाषा साहित्य शृंखलाअन्तर्गत सार्वजनिक गरिएको हो । यसअघि पनि मातृभाषा विभागमार्फत ९ वटा बहुभाषिक पत्रिका प्रकाशित भइसकेका छन् । ‘सिरूवा–जातिरि’ सहित अहिले १० वटा पत्रिका प्रकाशित भइसकेका छन् जसमा ४६ वटा मातृभाषाका साहित्यिक लेख, रचना, विश्लेषण र इतिहासलाई समेटिएको बताइएको छ ।
२६औँ मातृभाषा साहित्य शृङ्खलाको समुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गरे । उनले ‘सिरूवा–जातिरि’ को सार्वजनिक गर्दै मातृभाषा संरक्षण र विकासमा प्रतिष्ठानको भूमिका ऐतिहासिक रहेको उल्लेख गरे । उनका अनुसार प्रतिष्ठानको ६८ वर्षको इतिहासमा मातृभाषा साहित्यलाई प्राज्ञिक सत्तासँग जोडेर अघि बढाउन अढाइ वर्षमा महत्वपूर्ण काम भएको छ ।
कुलपति राईले जेन्जी विद्रोहको प्रभावले नेपाली समाज, संस्कृति र राजनीतिलाई नयाँ उचाइमा पु¥याएको चर्चा गर्दै जेन्जी सहिदहरूको अवमूल्यन गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । साथै, साहित्य र संस्कृतिमा यसले पारेको प्रभावबारे गहिरो अध्ययन आवश्यक रहेको पनि उनको भनाइ थियो ।
कार्यक्रममा धिमाल जातीय विकास केन्द्रले कुलपति भूपाल राई र प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीलाई सम्मान गरेको थियो । कार्यक्रममा सम्बोधन गर्दै डा. सुवेदीले लोपोन्मुख जाति र तिनका मातृभाषाको विकास गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे । उनले मातृभाषाको जगेर्ना गर्न हातेमालो र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
सभाध्यक्ष तथा प्रज्ञा परिषद् सदस्य, मातृभाषा विभाग प्रमुख र ‘सिरूवा–जातिरि’ का प्रधान सम्पादक राजन मुकारुङले मोरङ, झापा र सुनसरीमा बोलिँदै आएका १० लोपोन्मुख मातृभाषालाई एउटै साझा पत्रिकामा समेट्न पाउनुले नयाँ उत्साह थपेको बताए ।
उनले जेन्जी पुस्ता र साहित्यको सन्दर्भ जोड्दै नयाँ पुस्तामा मातृभाषाको सौन्दर्यबोध गराउन सकिए मात्र मातृभाषा संरक्षण र सम्वर्धन सम्भव हुने धारणा राखे । उनले आगोलाई मुन्दुमले जीवनको ताप, ऊर्जा र न्यानो हो भनेर सिकाउँछ भने तर त्यही आगोलाई केवल “फायर” भनेर मात्र बुझाइयो भने संस्कृतिको गहिराइ हराउने चेतावनी पनि दिए ।
उनका अनुसार कुनै पनि भाषा, ज्ञान र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन लोपोन्मुख मातृभाषामा पत्रपत्रिका निकाल्नु जरुरी छ ।
मातृभाषा साहित्य शृंखलामा विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए ।
प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिङ्जालीले ‘मगर ढुट भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरे भने रबिलाल ताजपुरिया र तेजेन्द्र ताजपुरियाको सहलेखन रहेको ‘ताजपुरिया भाषा र लोकसाहित्यको अवस्था’ कार्यपत्र तेजेन्द्र ताजपुरियाले प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि भाषा आयोगका निवर्तमान सदस्य अमृत योन्जन, प्रा. श्रीराम उपाध्याय, पूर्णबहादुर घर्तिमगर र अञ्जु राजवंशीले जिज्ञासा र सुझाव राखेका थिए ।
शृंखलामा वाम्बुले राई भाषामा एलिना राई, बैतडेली भाषामा कर्ण दयाल सोराडी र शेर्पा भाषामा डेण्डी शेर्पाले आफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका अध्यक्ष दानबहादुर धिमालले शुभकामना मन्तव्य राखेका थिए भने सम्पादनसम्बन्धी धारणा बेचन उराँवले प्रस्तुत गरेका थिए ।
‘सिरूवा–जातिरि’ का सम्पादक मण्डलमा बेचन उराँव, जीवनकुमार धिमाल, दिलिप बास्के र जगदीशप्रसाद ताजपुरिया रहेका छन् भने कार्यकारी सम्पादकमा डा. सोमबहादुर धिमाल छन् । कार्यक्रमको उद्घोषण साहित्यकार शोभा सुनुवारले गरेका थिए ।







