September 22, 2026

जनआकांक्षा अनुसार दृढ संकल्पका साथ सरकार अघि बढ्छ : प्रधानमन्त्री कार्की

जनआकांक्षा अनुसार दृढ संकल्पका साथ सरकार अघि बढ्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकार जनआकाङ्क्षा अनुसार दृढ सङ्कल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । संविधान दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न आन्दोलनको मर्म आत्मसात् गर्दै पारदर्शिता, कानुनी समानता, सुशासन र विकासलाई प्राथमिकतामा राखिने बताइन् ।

प्रधानमन्त्री कार्कीले आफू पदको लोभमा नभई देश सङ्कटमा परेको समयमा युवा पुस्ताको अनुरोधमा सङ्क्रमण व्यवस्थापन गर्न नेतृत्व लिएको उल्लेख गरिन् । “हामी सबै पुस्ताको साझा अपेक्षा भ्रष्टाचारको अन्त्य, कानुनी समानता र सुशासन हो । सरकार यिनै एजेन्डा अनुसार काम गर्छ,” उनको भनाइ थियो ।

नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने पनि उनले स्पष्ट पारिन् । कानुनी शासन र लोकतान्त्रिक मूल्यमा खरो उत्रन नसक्नुको परिणामस्वरूप वर्तमान अवस्था आएको उनले स्मरण गरिन् ।

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण र व्यवसायिक प्रतिष्ठानमा परेको क्षतिको पुनरुत्थान ठूलो चुनौती भएको भन्दै कार्कीले सबै पक्षलाई सहयोग गर्न आह्वान गरिन् ।

सम्बन्धित खबरहरु

भर्खरै