September 22, 2026

प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश सरकारले दिएको थिएन, स्वचालित हतियारबारे छानबिन होस्- ओली

प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश सरकारले दिएको थिएन, स्वचालित हतियारबारे छानबिन होस्- ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा षड्यन्त्रकारीहरूले घूसपैठ गरी हिंसा मच्चाएको टिप्पणी गरेका छन् । २४ गतेयता सार्वजनिक कार्यक्रममा नदेखिएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घूसपैठ भयो– आव्हानकर्ताले भनेझैं । त्यसमा घूसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो ।’

उनले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश सरकारले नदिएको बताए । ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ’, ओलीले लेखेका छन्, ‘त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दछु ।’

उनले अहिले नेपालको संविधानमाथि ठूलो आक्रमण भएको पनि जिकिर गरेका छन् । ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ’, ओलीले भने, ‘जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।’

यो सबै एक षड्यन्त्र भएको र यसबारे आफूलाई थाहा भएको संकेत पनि उनले गरेका छन् । तर, यसबारे आज धेरै कुरा नभन्ने उनले लेखेका छन् । ‘धेरै कुरा समयले आफैं बयान दिने छ’, ओलीले लेखेका छन्, ‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर, आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्नेछ ।’

सम्बन्धित खबरहरु

भर्खरै