काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्दै आज (असोज १) नेपालभर सार्वजनिक बिदा दिइएको छ।
भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तीमा ७२ जना युवाको ज्यान गएको थियो। उनीहरूको सम्झनामा भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको थियो।
सरकारको निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ। साथै, देशभरका सरकारी निकाय तथा संस्थानहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
यसअघि मंगलबार काठमाडौंको पशुपति आर्यघाटमा मृत्यु भएकाहरूमध्ये धेरै युवाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। त्यस्तै, केही युवाको शव उनीहरूको गृह जिल्लामा लगेर अन्त्येष्टि गरिएको छ।
सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई ‘राष्ट्रिय शहीद’ का रूपमा मान्यता दिने कि नदिने विषयमा आन्तरिक छलफल जारी रहेको बताइएको छ।







