काठमाडौँ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई राष्ट्रिय सम्मान दिने घोषणा गरेका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहण कार्यक्रममा उनले पहिलो निर्णयका रूपमा शहीदहरूको स्मृतिमा राष्ट्रिय शोक मनाउने घोषणा गरेका हुन्।
अर्यालले भने, “जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई राष्ट्रिय सम्मान दिने हाम्रो पहिलो दायित्व हो। त्यसैले राष्ट्रिय झण्डा आधा झुकाउने र राष्ट्रिय शोक मनाउने निर्णय गरिएको छ।” शोक दिवसको मिति भने मन्त्रीपरिषदले टुंगो लगाउने उनले बताए।
गृहमन्त्री अर्यालले दोस्रो निर्णयमा आन्दोलनमा मृतकका परिवारलाई तत्कालीन राहतस्वरूप किरिया खर्चका लागि एक–एक लाख रुपैयाँ दिने व्यवस्था गरिएको जानकारी दिए।
त्यस्तै, तेस्रो निर्णयका रूपमा सरकारले शहीदहरूको शव व्यवस्थापनका लागि नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट भेगमा शव पु-र्याउन हेलिकप्टर प्रयोग गर्ने व्यवस्था गर्ने उनले स्पष्ट पारे।
अर्यालका अनुसार, यी निर्णयहरूले शहीद परिवारलाई तत्काल राहत दिने मात्र नभई आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति राष्ट्रको सम्मान प्रकट गर्ने सन्देश दिनेछन्।
विश्लेषकहरूका अनुसार, गृहमन्त्रीको पहिलो निर्णयले शहीद परिवारप्रति राज्यको जिम्मेवारी र संवेदनशीलता देखाएको छ। आगामी दिनमा आन्दोलनका अन्य माग सम्बोधन गर्ने दिशामा पनि सरकार अघि बढ्ने अपेक्षा गरिएको छ।













