September 23, 2026

जेनजी युवाहरुले उठाएका विषय लोकतान्त्रिक मूल्य र संविधानभित्रै समाधान गर्न सकिन्छ : प्रचण्ड

जेनजी युवाहरुले उठाएका विषय लोकतान्त्रिक मूल्य र संविधानभित्रै समाधान गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाहरुको माग संसद् विघटन वा संविधानविरोधी नभएको स्पष्ट पारेका छन्। एक विज्ञप्ति जारी गर्दै उनले जेनजी युवाहरुले उठाएका विषय लोकतान्त्रिक मूल्य र संविधानभित्रै समाधान गर्न सकिने बताए।

‘लोकतन्त्रको विकल्प अझ परिष्कृत लोकतन्त्र हो, गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,’ प्रचण्डले भने, ‘जेनजी युवाहरुले उठाएका माग वर्तमान संसदीय प्रक्रियामार्फतै पूरा गर्न सकिन्छ।’

उनले जेनजी आन्दोलनको मर्म र मुद्दासँग आफूहरु पनि एकै धरातलमा रहेको दाबी गर्दै पछिल्ला आगजनी र तोडफोडका घटनाबारे प्रश्न उठाए। ‘जेनजी पुस्ताको घोषित नीति र आदर्श विपरीत माओवादी पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले आगो लगायो ? यसको गम्भीर छानबिन हुनुपर्छ,’ उनले भने।

प्रचण्डले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गहिरो मूल्याङ्कनसहित समावेशी लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए। उनले प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीतर्फ संविधान संशोधन गर्न सके मात्रै समुन्नत लोकतन्त्र सम्भव हुने बताए।

जेनजी पुस्ताले भ्रष्ट्राचारविरोधी एजेन्डा उठाउनु गर्वको विषय भएको उल्लेख गर्दै उनले आन्दोलनलाई बल प्रयोग गरेर दमन नगर्न सरकारले सजग रहनुपर्नेमा जोड दिए।

उनका अनुसार आन्दोलनको दोस्रो दिनदेखि अवाञ्छित तत्वहरूको घुसपैठ देखिन थालेपछि सिंहदरबारसहितका ऐतिहासिक धरोहरमा लूटपाट र आगजनी भएको हो। ‘यी घटना नेपालको इतिहासमै सर्वाधिक नकारात्मक घटनाको रूपमा दर्ज भएका छन्,’ प्रचण्डले भने।

सम्बन्धित खबरहरु

भर्खरै