काठमाडौं । ओखलढुंगा पत्रकार समाजले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनप्रति घोर भर्त्सना गरेको छ। पारदर्शिता, डिजिटल अधिकार र उत्तरदायी शासनको मागसहित देशव्यापी प्रदर्शनमा सहभागी निहत्था युवामाथि भएको गोली प्रहार र हिंसालाई समाजले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भनेको छ।
विज्ञप्तिमा भनिएको छ, “सो घटनामा १९ युवाले अकालमा ज्यान गुमाउनु परेको खबरले हामी विचलित छौं। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”
समाजले घटनामा संलग्न पत्रकारमाथि भएको आक्रमणलाई समेत आपत्तिजनक भन्दै तत्काल छानबिन र दोषीमाथि कानूनी कारबाही गर्न माग गरेको छ। सरकारी दमनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसकर्मी उमेश कार्की सहित करिब साढे चार सय प्रदर्शनकारीमाथि गोली प्रहार भएको समाजले जनाएको छ।
समाजले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पत्रकारसहित घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। साथै, सञ्चारमाध्यमलाई फिल्डमा खटाउँदा न्यूनतम सुरक्षा सामग्री (ज्याकेट, हेलमेट, परिचयपत्र) उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।
“प्रहरी प्रशासनको अक्षम्य कमजोरी, राज्य सञ्चालकको गैरजिम्मेवार व्यवहार र हठका कारण यस्तो घटना भएको हो। आगामी दिनमा यस किसिमको दुर्घटना नेपाल र नेपालीले कहिल्यै सामना गर्न नपरोस् भन्ने हाम्रो अपेक्षा छ,” विज्ञप्तिमा महासचिव जीवन शर्माले उल्लेख गरेका छन्।







