September 23, 2026

राष्ट्रपति पौडेलद्वारा ‘राष्ट्रिय कविता महोत्सव–२०८२’ का उत्कृष्ट १० कविलाई पुरस्कृत

राष्ट्रपति पौडेलद्वारा ‘राष्ट्रिय कविता महोत्सव–२०८२’ का उत्कृष्ट १० कविलाई पुरस्कृत

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०८२’ का उत्कृष्ट दस कविलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन, शीतल निवासमा सम्मान गर्नुभयो। प्रत्येक कविलाई रू. ४०,००० र कदरपत्र प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य रहेको बताए । उनले नेपाललाई विभिन्न भाषा, जाति र संस्कृतिको साझा थलो भएको देशको रूपमा चिनाउँदै, प्रज्ञा–प्रतिष्ठानले साहित्य र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले साहित्यलाई भाषा र कलात्मक अभिव्यक्तिको माध्यम मात्र नभई देशको पहिचान र आत्मा भएको भन्दै, साहित्य र समाज एक अर्काका पूरक भएको बताउनुभयो। उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र विकास सबैको साझा दायित्व भएको पनि जोड दिए ।

उक्त अवसरमा पुरस्कार पाउने कविहरूमा सिराहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम–पश्चिमकी तुलसी केसी, मकवानपुरकी मिरमा (रमा सुवेदी), सुनसरीका शमुएल कोइराला, ललितपुरकी सन्ध्या महर्जन र चितवनकी सिर्जना अविरल रहेका छन्।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि पाँच कविलाई पुरस्कृत गर्ने परम्परालाई परिवर्तन गर्दै उत्कृष्ट दस कवि छनोट गरिएको जानकारी दिनुभयो। यसमा पाँच जना नेपाली भाषा र पाँच जना मातृभाषाका कविका कविता समावेश गरिएको छ, जसले समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको बताइएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य विभाग प्रमुख बाबा बस्नेतले महोत्सवमा प्राप्त ७८० कविताबाट प्रकृयागत छनोट गरी उत्कृष्ट १० कविता चयन गरिएको जानकारी दिइन् । कार्यक्रमको उद्घोषण सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञिक समृद्धि, भाषा, साहित्य र संस्कृतिको विकासमा प्रतिष्ठानले पुर्याएको योगदानको महत्व औंल्याए ।

राष्ट्रपति पौडेलले पुरस्कार प्राप्त कविहरूको सृजनात्मक यात्राको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

सम्बन्धित खबरहरु

भर्खरै