काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँचदिने भ्रमणका त्यसतर्फ प्रस्थान गरेका छ्न् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे ।
प्रधानमन्त्री ओली आज बिहान ७ बजे हिमालयन एअरलाइन्समार्फत चीनको थिएन्चिन विमानस्थलमा पुग्नेछन् । स्थानीय समयअनुसार दिउँसो ३ बजे विमानस्थलमा नेपाली प्रतिनिधिमण्डल ओर्लिने छ ।
चीनमा हुने सांघाई सहयोग संगठन (एससओ) को २५ औं शिखर सम्मेलनमा सहभागी हुन २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री चीनतर्फ लागेका हुन् ।
को को छन् ?
प्रधानमन्त्रीसँग उनकी श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त,पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे,काँग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार युवराज खतिवडा छन् ।
त्यसैगरी एमाले सचिव छविलाल विक, परराष्ट्रसचिव अमृतबहादुर राई, प्रधानमन्त्रीको निजी चिकित्सक दिव्यासिंह शाह, निजीसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, चिफ अफ प्रोटोकल कुमारराज खरेल पनि प्रधानमन्त्रीको टोलीमा रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
अन्य सदस्यमा प्रधानमन्त्रीको निजी सचिवालयका दीपेन्द्रप्रसाद दाहाल, मनहरि दंगाल, छमानसिंह बुढाथोकी मगर र निजी सहयोगी राधा शाक्य पनि हुनेछन् । सुरक्षा समूहबाट प्रमुख सुरक्षा अधिकृत कर्नेल सुमन थापामगर, निजी अंगरक्षक लेफ्टिनेन्ट कर्नेल दिवाकर खड्का, एसपी नवीन कार्की प्रधानमन्त्रीसँगै गएका छन् ।
सञ्चारकर्मीहरूमा उदय पोखरेल, प्रकाश सिलवाल, अनुपकुमार घिमिरे र दिनेश भण्डारी छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परामर्शदाता प्रदीप आचार्य र शाखा अधिकृत प्रदीप भट्टराईलाई भीभीआईपी टोलीमा सामेल गराइएको छ । बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओली उतैबाट सहभागी हुने कार्यक्रम छ ।







